काठमाण्डौं। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले टस हारेको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा यूएईका कप्तान मुहम्मद वसीमले टस जितेर बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले हङकङ र यूएईलाई समान २÷२ खेलमा हराएर फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट, दोस्रो खेलमा हङकङलाई ६ विकेट, तेस्रो खेलमा हङकङलाई ७९ रन र समूह चरणको पाँचौँ खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।
यस्तै यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हो । यूएई र हङकङको समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेको हो ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।