
गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो ।
निगमको एक ट्विनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ । उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ ।
दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौँ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ ।