
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सरकारले धरपकड गर्नु मौलिक हकविपरीत कार्य भएको बताएका छन् । प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन् । साथै प्रसाईँलाई नजरबन्दमा राखिएको लिङ्देनको आरोप छ ।
अध्यक्ष लिङ्देन भन्छन्, ‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् ।’ धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान ननिस्कने बताउँदै लिङ्देन भन्छन्, ‘सरकारले आफूलाई तत्काल सच्याओस् ।’