
शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेको छ ।
आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिङ्गटी हाइड्रो इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।
आज बजार घटे पनि कारोबार रकम बढेको छ । हिजो सोमवार १ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको ३६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।