जोडिनुहोस
  • होमपेज
  • नेपाललाई मेडिकल कलेजको हब बनाउनुपर्छ  अध्यक्ष ओली

नेपाललाई मेडिकल कलेजको हब बनाउनुपर्छ  अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई मेडिकल कलेजको हब बनाउनुपर्ने बताउनुभएको छ । एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० अभियानअन्तर्गत आज बिहीवार बाग्लुङ बजारमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपालमा मेडिकल कलजेहरू खोल्न आवश्यक रहेको बताउनुभयो । विदेशीका एजेन्टहरूले पैसा खाएर नेपालमा अहिले मेडिकल कलेज खोल्न नदिएको भन्दै उहाँले नेपालमा मेडिकल कलेज नहुँदा बर्सेनि विद्यार्थी लाखौँ रुपैयाँ खर्च गरेर विदेशिनुपरेको हुँदा नेपालभित्रै मेडिकल शिक्षा दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालमा सञ्चालित शिक्षण अस्पतालहरूलाई मेडिकल कलेजको रूपमा स्थापित गरेर विदेश पढ्न जाने मेडिकल शिक्षाका विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण मिलाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले स्वदेशमै युवा र विद्यार्थीलाई रोक्ने वातावरण बनाएको भए पनि वर्तमान गठबन्धनको सरकारले युवा विद्यार्थीलाई विदेशिन बाध्य पारेको आरोप लगाउनुभयो । अहिलेको सरकार रहेसम्म विदेश जाने युवा विद्यार्थी नरोकिने उहाँको भनाइ छ ।

ओलीले आफू नेतृत्वको एमाले सरकारले भारतले नाकाबन्दी लगाएको समयमा चीनसँग पारवहन सन्धि सम्झौता गरेर नेपाललाई समुद्रसँग जोड्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले हिमाली जिल्ला मुस्ताङमा युरेनियम रहेको पत्ता लगाएर अहिले त्यसको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा लगाइएको बताउँदै एमालेको नेतृत्वमा सरकार बनेमा नेपालमा रहेका प्राकृतिक स्रोत र साधनको उत्खनन तथा परिचालन गरेर देश निर्माण गर्ने दाबी गर्नुभयो । देशभित्र रहेका खनिज पदार्थको उत्खनन गरी युवालाई रोजगारको सिर्जना गरिने उहाँले बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, मध्यपहाडी पुष्पलाल लोकमार्गको द्रुत विकास, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गलगायत थुप्रै सडकको निर्माण अगाडि बढाएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एमालेको सरकार रहँदा आफैँले शिलान्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई अहिले सञ्चालनमा आए पनि वर्तमान सरकारले विदेशी पर्यटक आउनका लागि स्वीकृति दिन नसकेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष ओलीले एमालेको सरकारले नेपालमा थुप्रै विकास निर्माणका काम गरेको भन्दै नेपालको कुनै पनि भू–भाग अब दुर्गम नरहेको जिकिर गर्नुभयो । उहाँले अब देशको विकास गर्नका लागि पनि नेकपा एमाले नै चाहिने भएकाले मिसन ०८४ को अभियान लिएर अहिले देश दौडाहामा रहेको उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका