नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र बीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार सिंहदरबारमा नेपालमा कृषि क्षेत्रको उत्पादन वृद्धि र व्यवस्थित बजार प्रणालीलाई प्रोत्साहन गर्नेबारे एक दशक लामो समझदारी पत्रमा हस्ताक्षर भएको हो। कृषिमन्त्री बेदुराम भुसालको उपस्थितमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्द शर्मा र सिम्याटका तर्फबाट ब्राम गोभाट्सले मन्त्रालयमा हस्ताक्षर गरेका थिए।
यसले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने बताइएको छ। समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने साझेदारी पत्रमा उल्लेख छ।
हस्ताक्षर पश्चात कृषिमन्त्री भुसालले यो साझेदारीले कृषि विज्ञानको अभिवृद्धि र नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।