
एजेन्सी । हंगेरीले युक्रेनलाई युरोपेली संघ (ईयू) को सदस्य बनाउन वार्ता सुरु गर्ने निर्णयप्रति असहमति व्यक्त गर्दै युक्रेनलाई युरोपेली संघबाट ५५ अर्ब डलरको आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सोशल मिडिया साइट एक्समा घोषणा गरे कि उनले युक्रेनलाई ईयू कोषमा भिटो दिनेछन्।
उनले लेखेका छन्, ‘हामीले युक्रेनलाई थप रकम भिटो लगायौं र एमएफएफ समीक्षामा भिटो लगायौं।हामी उचित तयारीपछि अर्को वर्ष युरोपियन काउन्सिलमा यस विषयमा फेरि छलफल गर्नेछौं।’
हंगेरीको यो घोषणा ईयूले युक्रेन र मोल्डोभालाई ईयू सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेको केही घण्टापछि आएको हो।
युरोपेली परिषद्ले यो निर्णय सर्वसम्मतिले गरेको जनाएको छ। तर, मतदानको क्रममा हंगेरी बाहिरिएको थियो । हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ।