जोडिनुहोस
  • होमपेज
  • कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेका वस्तुले बिक्री गर्न सहज भएको छ । कृषि उपजले कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न सहज भएसँगै बजार समेत पाएको छ । उपभोक्ताले समेत सस्तोमा ताजा तरकारीलगायतका कृषि उपज उपभोग गर्न पाएका छन् ।

जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्र सञ्चालनमा आएपछि किसानलाई सजिलो भएको केन्द्रमा तरकारी किनमेलका लागि पुगेकी स्थानीय पद्मा खड्काले बताइन् । उनी हरेक दिन बिहानको समयमा यहीँ नै तरकारी लिन आउने गरेको बताउँछिन् ।

‘बाहिर तरकारी किनमेल गर्दा महँगो पर्र्ने हुँदा हरेक दिन ताजा तरकारी लिन आउने गरेका छु’, उनले भनिन्, ‘कृषि उपज केन्द्रले हामीजस्ता उपभोक्ता र दुःख गर्ने कृषकलाई सजिलो बनाइदिएको छ ।’ यहाँ बिचौलिया हाबी हुन नपाउँदा किसानले आफ्नो कृषि वस्तुको मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा किनमेल गर्न सकिने हुँदा निकै सहज भएकोे उनको भनाइ छ ।

बिहान हिँड्दा स्वास्थ्यलाई पनि फाइदा पुग्ने र तरकारी पनि ताजा लैजान पाउने गरेको उनले बताइन् । रोल्पाका किसान धनबहादुर रोकाले अन्त सस्तोमा व्यापारीले खोज्ने हुँदा यहाँ आफूले भनेकै मूल्यमा तरकारी बेच्न पाउने गरेको बताए । रोकाले अहिले घोराही–४ मा तरकारी खेती गर्दै आएका छन् । बाहिरको मूल्यभन्दा रु पाँच–दश बढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।

यस याममा तरकारीले मूल्य पायो भने मासिक रु दुई लाख बढी आम्दानी गर्न सकिने उनी बताउँछन् । अहिले दुई बिघामा तरकारी खेती गर्दै आएको उनको भनाइ छ । कृषि उपज बिक्री केन्द्रमा आफ्नो उत्पादन राम्रै बिक्री हुँदै आएको उनले बताए । ‘घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु, ल्याएको जति सधैँ बिक्री हुन्छ, कहिलेकाहीँ मात्रै बच्ने गर्दछ’, रोकाले भने । आफू जस्तै धेरै किसानलाई सहज भएको उनी बताउँछन् । सोही ठाउँका हरि खत्री पनि आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताए । धेरै खेती नभए पनि यस ठाउँमा बिक्री गर्न समस्या नभएको उनी बताउँछन् ।

ताजा र सुपथ मूल्यमा पाउँदा उपभोक्ता पनि खुसी हुने गरेका छन् । उनले व्यावसायिकरूपमा खेती नगरे पनि घरमा खाएर बचेको तरकारी केन्द्रमा बेच्न ल्याएको बताए । कृषि उपज केन्द्रमै भेटिएका घोराही–१८ रानिजरुवाका किसान अमर खत्रीले पनि १२ कठ्ठामा टमाटर खेती गर्दै आएका छन् । आफूले उत्पादन गरेको टमाटर आफ्नै मूल्यमा बेच्न पाउँदा सहज भएको उनले बताए । यसअघि उनले भारतमा पनि टमाटर खेती गरेका थिए ।

कृषि उपज केन्द्र सञ्चालनमा आएदेखि किसान र उपभोक्ता दुवैलाई सहज भएको उनको अनुभव छ । यहाँबाट किसानले लगानीअनुसारको मूल्य पाएका छन् भने उपभोक्ताले पनि सस्तोमा पाएका छन् । जिल्लाका धेरै नागरिक कृषि पेसा गर्दै आएका छन् । किसानले यहाँबाट तरकारी, फलफूल बिक्री गरेबापत दैनिक रु १० केन्द्रलाई बुझाउने गरेका छन् ।

घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घर–घरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकामा अहिले भने सहज भएको बताए । यहाँबाट किसानले उत्पादन गरेको कोभी, टमाटर, साग, मुला, दाललगायत विभिन्न कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले पनि ताजा र सुपथ मूल्यमा पाउन सकेका छन् । किसानले आफूले मेहनत गरेर उत्पादन गरेको वस्तुले सहजरूपमा बजार पाएको हुँदा यसमा बिचौलिया हाबी नभएकाले उपभोक्ता पनि ठगिनबाट बचेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका