
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट एनएसईएमले नेपाल सुपर लिग ९एनएसएल० को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारमाथि प्रतिबन्ध लगाएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै एनएसईएमले दिएको जानकारीअनुसार सहायक प्रशिक्षक सिलाकारलाई एनएसएलको दोस्रो संस्करणका आगामी सबै खेलका लागि प्रतिबन्ध गरिएको हो । ३ पुसमा स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्धको खेलमा रेफ्री सुरोजित दासमाथि हातपात र जातीय अपशब्द प्रयोग गरेको आरोपमा उनलाई आयोजकले तत्काल लागू हुनेगरी प्रतियोगिताका आगामी खेलबाट र एनएसएल सम्बन्धित सबै गतिविधिबाट प्रतिबन्ध लगाएको जनाएको छ । साथै उनलाई २० हजार जरिवाना समेत गरेको छ ।
यस्तै, एनएसईएमले वीरगञ्ज युनाइटेड एफसीसँगको खेलमा रेफ्रीमाथि आक्रोशित व्यवहार देखाएका इलामका कप्तान विकेश कुथुलाई पनि एक खेलमा प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।