
मुलुकका सबै उच्च अदालतमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटनमा सो प्रणालीको उद्घाटन गरे । यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख स्वचालित प्रणालीअनुसार तोक्ने अभ्यास सुरु गरिएको थियो । स्वचालित प्रणाली लागू भएपछि कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने पद्धतिको अन्त्य भएको छ । अब मुद्दाको प्रकृति र प्राथमिकताका आधारमा स्वचालित रुपमा तारेखको मिति निर्धारण हुनेछ ।