विद्यालयको सय मिटर दूरीभित्रका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न यहाँको बाल क्लबले अभियान थालेको छ । मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयमा गठित जागृति बाल क्लबले उक्त अभियान सुरु गरेको हो । विद्यालय वरपरका पसलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको र त्यसबाट बालबालिकामा असर परेको क्लबका अध्यक्ष निकेश करुवाले बताए। उक्त क्लबले र्याली आयोजना गर्दै पसलमा गएर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न अपिल गरेको छ । पसलमा त्यस्ता पदार्थ बिक्री वितरण बन्द गरिएको छ वा छैन भनेर अनुगमनसमेत गरिरहेको उनको भनाइ थियो । विद्यालय नजिक दर्जनौँ सङ्ख्यामा पसल रहेका र तीमध्ये कतिपय पसलमा मदिरासमेत बिक्री भइरहेको गुनासो आएको क्लबका सदस्यहरूले बताए । विद्यालय पोसाकमा विद्यालयबाहिर यस्ता क्रियाकलापमा विद्यार्थी संलग्न भएको देखिए तुरुन्त विद्यालयमा खबर गरिदिन समेत क्लबले अपिल गरेको छ । कानुनमै विद्यालयको एक सय मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने उल्लेख भएकाले त्यसको कडाइका साथ कार्यान्वयन गर्न अभिभावकबाट समेत दबाब आइरहेको विद्यालयका प्रधानाध्यापक शान्तिराम चम्लागाईंले बताए।