
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।
मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले भने , “अहिले काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ । पानी १० मिलिमिटर भन्दा कम परेको छ ।”
उनका अनुसार उच्च हिमाली भेगमा हिमपात समेत भएको छ । अहिले लुक्का आसपासमा ठूलो मात्रामा हिमपात भएको उनको भनाइ छ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई स्थानमा छिटफुट वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।
मौसमविद् नगरकोटीका अनुसार मौसम पर्सिसम्म खुल्ने सम्भावना छैन । उनले भने , “पश्चिमी वायुको प्रभावका कारण मौसम पर्सिसम्म पूर्णतया खुल्ने सम्भावना छैन, देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सुरकुहिरो लाग्नाले चिसो अझै बढ्नेछ ।”