
लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ । आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मध्य सोलु जलविद्युत् कम्पनीको शेयर साढे ९ प्रतिशतले बढेको छ । आज १ करोड ८० लाख कित्ता शेयर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।