काठमाडौँ – जति धेरै पानी पिउन सकियो त्यति नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने मानसिकता हामी सबै मानिसहरूमा रहेको छ । जुन एउटा भ्रम मात्र हो ।
पानी जतिसक्दो धेरै पिउने भन्दा पनि मात्रा मिलाएर सही तरिकाले पिउँदा मानव शरीरमा राम्रो प्रभाव पर्छ । पानी शरीरलाई अति आवश्यक हुन्छ । शरीर स्वस्थ राख्नका लागि सकेसम्म धेरै पानी पिउनुपर्ने धारणा आम रुपमा रहँदै आएको छ ।
तर धेरै पिउँदा शरीरमा खतरा हुनसक्ने वरिष्ठ पेट रोग विशेषज्ञहरू बताउँछन् ।
धेरै पानी पिउँदा स्वास्थ्यलाई फाइदा नहुने चिकित्सकहरूको सुझाव छ । हामीले शरीरलाई चाहिए जति र शरीरको माग अनुसार पानी पिउनुपर्ने उनीहरू सुझाव दिन्छन् । पेट सफा हुन्छ भनेर हामी धेरै पानी पिउने गर्छौ तर यो फाइदाजनक रहेनछ । ‘धेरै पानी पिउँदा शरीरमा भएको नुन पखालिदिन्छ ।
पानीले शरीरको नुन पखालिँदा सोडियम र पोटासियमको मात्रा पनि घट्छ अनि शरीर बाउँडिन थाल्छ अझ कतिपय भने बेहोस पनि हुन सक्छन्।
शरीरको प्रत्येक कोषमा नुन चाहिने भएकाले पोटासियम घटेमा मुटु नै नचल्ने खतरा पनि रहने विज्ञहरू बताउँछन् । वयस्क व्यक्तिको शरीरलाई दिनमा डेढदेखि २ लिटरसम्म पानीको आवश्यक पर्छ । तर एकै पटक धेरै पानी पिउनु नहुने र पटक–पटक गरी पिउनु पर्ने हुन्छ ।
धेरै पसिना आउँदा नुन या नुनिलो खानेकुरा खान पनि डाक्टरहरू सुझाव दिन्छन् । हाम्रो शरीरमा दैनिक डेढ देखि २ लिटर पानी आवश्यक पर्छ र कतिपयले आवश्यकता अनुसार ३ लिटर र ४ लिटर पिउने गर्छन् । पानी एकैचोटी पिउनु हुँदैन ।
पानी धेरै तातो पनि हैन र फ्रिजको पनि हैन ठिक मनतातो पिउन आवश्यक रहेछ । हामी सबैको पानी खाने तरिका कस्तो हुन्छ भने एक चोटीमा घटघट एक ग्लास दुई ग्लास र कसैले एक बोतल नै पिउने गर्छन् । तर यसरी पानी पिउनु विलकुल गलत हो । पानी एकैचोटी घटघट पिउने नभएर दूध र चिया खाए सरह घुटुक,घुटुक पिउँदा शरीरले राम्रो असर गर्छ ।
पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मात्र होइन, बाँच्नकै लागि पनि अत्यावश्यक हुन्छ । तर यही जिवनदायिनी पानी आवश्यकता भन्दा बढी पिइयो भने त्यसले स्वास्थ्यमा ठूलो नकारात्मक असर पार्ने कुरा नेपाली चिकित्सकहरूले मात्र नभएर विश्व अध्ययनहरूले नै देखाएको छ ।
शरीरलाई आवश्यक पर्ने भन्दा बढी पानी पिउनाले शरीरमा जल विषाक्तता अर्थात वाटर इनटोक्सिकेसनको समस्या पैदा हुने खतरा रहन्छ । अस्ट्रेलियाको भिक्टोरिया स्थित मोनास विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अनुसन्धान अनुसार बढी पानीको सेवनले मानव शरीरमा तरल पदार्थको नियन्त्रण गर्ने प्रणालीले काम गर्न छाड्दछ । शरीरमा पानीको अधिकताले वाटर इनटोक्सिकेसन अर्थात हाइपोनेट्रेमिया हुनसक्छ ।
यो अवस्थामा रगतमा सोडियमको मात्रा कम हुन जान्छ । यसो भयो भने मानिसमा अत्यधिक थकावट तथा बेहोस हुने साथै मानिस गम्भीर रूपमा अचेत भएर कोमामा पुग्ने जोखिम हुन्छ । धेरै पानी पिउनाले मस्तिष्कले स्वालोइंग इनहिबिसनलाई सक्रिय बनाउँछ । यदि हामी शरीरलाई उसको माग अनुरुप नै आवश्यक पदार्थहरू उपलब्ध गरायौँ भने सबै ठिक हुन्छ । त्यसैले तिर्खा भन्दा बढी पानी नपिउनुहोस् ।
शरीरमा पानीको मात्रा फोक्सोमा ९० प्रतिशत, रगतमा ८२ प्रतिशत, छालामा ८० प्रतिशत, मांसपिण्डमा ७५ प्रतिशत, मष्तिष्कमा ७० प्रतिशत हड्डीमा २२ प्रतिशत रहेको हुन्छ । प्रत्येक मानिसलाई साधरणतया दैनिक रूपमा तीन देखि चार लिटर वा १०–१२ गिलास पानी आवश्यक पर्छ ।
यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ । धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ ।
जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ । ठिक तरिकाबाट पानी पिउनाले विषाक्त तत्त्व पनि बाहिर निष्कासन गर्न सक्छ । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन ।
खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ ।