देश
सर्वोच्चको फैसला र गृहको सूचना लत्याउँदै जनयुद्ध दिवसमा यी पालिकाले दिए सार्वजनिक बिदा

मंगलबार परेको जनयुद्ध दिवसका दिन स्थानीय तहले धमाधम सार्वजनिक बिदा घोषणा गरिरहेका छन् । यसअघि सर्वोच्च अदालतले भने गत पुस १३ गते जनयुद्ध दिवस संविधानमा उल्लेख नरहेको भन्दै बिदा दिन नमिल्ने व्याख्या गरेको छ । त्यसबाहेक गृह मन्त्रालयले पनि फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारिसकेको छ ।
मन्त्रालयले विज्ञप्ति नै निकालेर सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार बिदा कायम नरहेको जनाएको हो । तर, सर्वोच्चको फैसला र गृहको सूचनालाई बेवास्ता गर्दै पालिकाहरुले भने सार्वजनिक बिदा दिइरहेका छन् । आज मात्रै पाँचथरको मिक्लाजुङ गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरेको छ । आजै संखुवासभाको थुलुङ दूधकोशी गाउँपालिकाले पनि फागुन १ गते बिदा दिने सूचना निकालेको छ ।
यसअघि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालीकोटका पाँच वटा स्थानीय तहहरुले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् । जनयुद्ध दिवसका दिन बिदा दिने कालिकोटका पालिकाहरुमा रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका र महावै गाउँपालिका छन् ।