
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरूले जोड दिएका हुन् ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यस विषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए । बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका विषयमा पनि सदस्यहरूले चासो राखेको उनले बताए । बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उनको भनाइ छ । स्थायी कमिटीमा नेताहरूको कार्यविभाजन, पार्टीको अभियानको समीक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।