नेपालगञ्ज । संसदीय टोलीले जिल्ला कारागार बाँके र जयन्दु बाल सुधारगृहको बुधबार स्थलगत अनुगमन गरेको छ ।
प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा आएको छ सदस्यीय संसदीय टोलीले कारागार र बाल सुधारगृहको अनुगमन गरेको हो । समितिका सदस्य पूर्णबहादुर घर्तीले कारागार र बाल सुधारगृहको नीतिगत तथा भौतिक संरचनाको सुधारलगायतका विषयमा जानकारी लिएको बताए ।
समितिका सदस्य घर्तीले भने, “जे जस्ता समस्या देखिएका छन्, त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइनेछ । ”
कारागार कार्यालयका प्रमुख अर्जुनजङ्ग शाहले संसदीय टोलीलाई कारागारको अवस्थाका बारेमा विस्तृत जानकारी गराएका थिए । संसदीय टोलीमा समितिका सदस्य ध्रुव बहादुर प्रधान, शेरबहादुर कुँवर, चन्द्रबहादुर विक, रेखा चौधरीलगायत थिए । उक्त टोलीले बिहीबार बर्दियास्थित जिल्ला कारागार र शुक्रबार सुर्खेतमा रहेको कारागारको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।