
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार परिषद्को बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने निर्णय भएको छ। बैठकमा महाधिवेशनमा सहभागी दुई हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।