
सिमरा। विभागिय टिम नेपाल एपीएफ क्लब सिमरामा जारी १४औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आठौं विराट गोल्डकपमा मोरङसंग पराजित हुँदै बाहिरिएको एपीएफले जीतपुरसिमरा गोल्डकपमा सुखद् सुरुवात गर्ने क्रममा मकवानपुरलाई २–० ले पराजित गरेको हो ।
एपीएफको जीतमा बिके तामाङ र प्रदीप लामाले समान एक–एक गोल गरे । खेलको ३०औं मिनेटमा बिके तामाङको गोलबाट खेलमा अग्रता लिएपनि जीतका लागि एपीएफले अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो ।
बलियो चुनौती पस्किएको मकवानपुरविरुद्ध बिकेले बिश्वास उदासको क्रस बललाई सदुपयोग गरे । विश्वासको ब्याक पासलाई बिकेले सानदार फिनिसिङ दिए । विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बिकेले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मकवानपुरविरुद्ध उस्तै लयमा उत्रिएको एपीएफले ६८औं मिनेटमा गोलअन्तर दोब्बर पार्यो । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बलमा प्रदीपले गोल गरेका थिए । —अर्जुन चौधरी