
जनता समाजवादी पार्टी जसपा नेपालले महाधिवेशनका लागि एक हजार प्रतिनिधि चयन गर्ने तयारी थालेको छ । तर, समावेशी समानुपातिकताको कुरा उठाउने जसपाले आफ्नै पार्टीमा भने सो नियम स्पष्टरुपमा लागु गरेको छैन ।
कार्यकारिणी समितिले प्रतिनिधि चयनका लागि तयार पारेको निर्देशिकामा समावेशी समानुपातिकको स्पष्ट व्यवस्था छैन । निर्देशिकाको पहिलो बुँदामा भनिएको छ, ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि निर्वाचित गर्दा कम्तीमा एक तिहाइ महिलासहित विविधता प्रतिबिम्बित हुने गरी विभिन्न जातीय र सामाजिक समूहहरूबाट समावेशी हुने गरी निर्वाचन गर्नेछ ।’
तर कुन कलस्टरबाट कति जनालाई समावेश गराउने कतै उल्लेख गरिएको छैन । मुस्लिम, दलित, पिछडिएका समुदायबाट कति, खसबाट कति भन्ने स्पष्ट रूपमा उल्लेख छैन । पार्टीको हरेक निकायबाट महिलालाई अनिवार्य गरिए पनि अन्य समुदायको बारेमा निर्देशिकाले केही बोलेको छैन ।
निर्देशिका तयार गर्न बनेको कार्यदलका संयोजक एवं जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतले एक तिहाइ महिला समावेश गराउने उल्लेख भएको र त्यसबाहेक अन्य कलस्टरबाट पनि समावेश गराउने उल्लेख भएको बताए । कलस्टरहरुका लागि प्रतिशत नतोके पनि हरेक जाती, समुदायलाई समावेश गराउने प्रयास हुने उनको भनाई छ ।
‘कलस्टरको प्रतिशत तोक्दा त्यो अनिवार्य हुन्छ, तर कतिपय ठाउँमा कलस्टर अनुसारका नेताहरू नहुन सक्छन् । त्यस्ता ठाउँमा गाह्रो हुने देखिएकाले कलस्टरका लागि प्रतिशत नतोकेका हौँ,’ उनले भने, ‘जसपा समावेशी समानुपातिकका लागि प्रतिबद्ध छ । हरेक समुदायबाट महाधिवेशन प्रतिनिधिमा समावेश गराइने छ ।’
जसपाले महाधिवेशन प्रतिनिधि संगठित सदस्यमध्येबाट प्रतिनिधि चयन गर्नेछ । जसपाका एक लाख ४५ हजार संगठित सदस्य रहेका छन् ।
कहाँबाट कति प्रतिनिधि ?
प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका २०० सम्म संगठित पार्टी सदस्यबाट एक जनाको दरले प्रतिनिधि चयन गर्ने निर्देशिकामा उल्लेख छ । यसरी छनोट भए पश्चात् प्रत्येक २०० मा थप एक–एक जना प्रतिनिधि निर्वाचित हुने बताइएको छ ।
पहिचानमा आधारित प्रत्येक राष्ट्रिय समितिबाट एक जना महिलासहित तीन–तीन जना प्रतिनिधि बनाउने निर्देशिकामा उल्लेख छ ।
प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूमध्येबाट दुई जना महिलासहित पाँच जना प्रतिनिधि चयन गर्ने बताइएको छ ।
दुई सयभन्दा कम संगठित सदस्य हुने जिल्ला समितिले पदाधिकारी तथा सदस्य मध्येबाट एक जना महिलासहित दुई जना प्रतिनिधि चयन गर्नेछ । दुई सय भन्दा बढी संगठित सदस्य भएका जिल्ला समितिले पदाधिकारी तथा सदस्यहरूमध्येबाट एक जना महिलासहित तीन जना प्रतिनिधि चयन गर्नेछ ।
केन्द्रीय सम्पर्क समितिका पदाधिकारी तथा सदस्यबाट एक जना महिलासहित दुई जना, प्रवास विशेष प्रदेश समिति अन्तर्गतका पदाधिकारी तथा सदस्यमध्ये बाट दुई जना महिलासहित पाँच जना, राष्ट्रिय समन्वय समितिबाट दुई जना महिलासहित पाँच जना, केन्द्रीय सल्लाहकार समितिबाट दुई जना महिलासहित पाँच जना, पार्टीका केन्द्रीय निकायमध्येबाट कम्तीमा दुई जना महिनासहित पाँच जना प्रतिनिधि चयन हुने निर्देशिकामा उल्लेख छ ।
पार्टीको जनवर्गीय, जातीय तथा पेसागत संघ संगठनमध्ये समाजवादी ट्रेड युनियन महासंघ, समाजवादी आदिवासी जनजाति महासंघ तथा यसका घटकहरू, बौद्धिक पेसाकर्मी महासंघ तथा यसका घटकहरू, मधेसी स्वास्थ्यकर्मी फोरम, नेपाल, समाजवादी किसान महासंघबाट सात–सात जना प्रतिनिधि चयन हुने बताइएको छ ।
प्रेस मञ्च, नेपाल, नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ, नेपाल, संघीय समाजवादी खेलकुद महासंघ, सुकुम्वासी व्यवस्थापन संघबाट तीन–तीन जना प्रतिनिधि चयन गर्ने बताइएको छ ।
समाजवादी सांस्कृतिक महासंघ, नेपालबाट चार जना प्रतिनिधि चयन गर्ने उल्लेख छ ।
त्यस्तै, पिछडा वर्ग ९ओबिसी० महासंघ, नेपाल, समाजवादी महिला संघ, समाजवादी युवा संघ, समाजवादी दलित मुक्ति संगठन, समाजवादी विद्यार्थी युनियन, संघीय कानुन व्यवसायी एसोसिएसन, मुस्लिम संघ, समाजवादी युवा स्वयमसेवक संघ, समाजवादी भुपू सैनिक महासंघ, समाजवादी खस संघ र समाजवादी थारु संघबाट पाँच–पाँच जना प्रतिनिधि चयन गर्ने निर्देशिकामा उल्लेख छ ।