हिजोदेखि काठमाण्डौमा शुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिँदैछ । आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन भएसँगै बेलुका सम्मेलन सकिने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ ।
आज बिहान चार वटा सभा हलमा चार वटा फरक–फरक सत्र चलेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।
यसैबीच चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । आज नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुशन प्राइभेट लिमिटेडु र चीनको एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ एफएनआईसी र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।
नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआईसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
यस्तै नेपालमा सार्वजनिक–निजी साझेदारी पीपीपी प्रवर्द्धनका लागि ुवर्ल्ड एसोसिएशन अफ पीपीपी युनिट्स एन्ड प्रोफेशनल्सु वाप र नेपाल एसोसिएशन अफ पीपीपी प्रोफेशनल्स अफ प्राक्टिशनर्स नाप बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारीसम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ ।