
राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ । ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौंको माइतीघरमा सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिरोधका क्रममा विभिन्न समुदायले आफ्नो पहिचान सहितको सांस्कृतिक र्याली निकालेका थिए । सांस्कृतिक प्रतिरोध कार्यक्रममा महतोले आफ्नो पहिचान प्रदर्शन गर्ने क्रममा राज्यले गरेको हस्तक्षेप समग्र पहिचानवादीको अपमान भएको बताए।
उनले उक्त घटनामा दोषीलाई माफी मगाउनुपर्ने र क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने मागलाई बेवास्ता गरेकाले सांस्कृतिक प्रतिरोध गर्नुपरेको धारणा राखे । यसअघि राष्ट्रिय मुक्ति क्रान्तिले गरेको प्रदर्शनका क्रममा विभिन्न धर्मालम्वीमाथि राज्यले दमन गरेको भन्दै सांस्कृतिक प्रतिरोधको आयोजना गरेको बताइएको छ ।