
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आज र भोलि २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।
राष्ट्रिय सभागृहमा जारी महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी छन् ।
केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ । यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ ।