अन्तर्राष्ट्रिय
सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि

नेपाल सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि यसमा छिमेकी भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको टिप्पणी गर्नुभएको छ ।
हिजो भुवनेश्वरमा भारतीय पत्रकारसँगको अन्तरक्रियामा विदेशमन्त्री जयशंकरले नेपालको पछिल्लो निर्णयले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया दिनुभएको हो । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको र आफूहरू यसमा स्पष्ट रहेको उहाँको भनाइ छ ।
गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठलले एक सय रुपैयाँको नोटमा रहेको पुरानो नेपालको नक्सा हटाएर नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भू–भाग समेटिएको नयाँ नक्सा जारी गरेको थियो ।