काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन बसेका परिवारले १७औँ दिनमा अनसन तोडेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट माग पूरा गर्न सरकारले कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले आइतबार अनशन तोडेका हुन् ।
आफन्तको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र सेनामा रहेकाको करार रद्ध गर्न माग गर्दै उनीहरू शान्तिवाटिकामा आमरण अनशनमा रहेका थिए ।
प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसीलगायत प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयका अधिकारी गएर अनसन तोडाएका थिए ।
रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीका अनुसार प्रधानमन्त्रीले पीडित परिवारका माग पूरा गर्न कूटनीतिक प्रयास तीव्र बनाउने प्रतिबद्धता जनाएपछि आमरण अनशन स्थगित गरेको बताइन् ।
रुसी सेनामा रहेकाहरूले करार रद्ध गरेपछि पनि नेपाल फर्काउन सरकारबाट प्रयास नभएको, मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रभावकारी कूटनीतिक अग्रसरता नदेखाएको भन्दै उनीहरूले माग पूरा गराउन अनशन सुरु गरेका थिए ।
संयोजक भण्डारीका अनुसार हालसम्म रुसमा कार्यरत ६२० मध्ये ३९ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यस्तै, १८ जना मृत्यु भएको भनिएको तर पुष्टि हुन बाँकी रहेको छ । पाँच जना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।
रुसी सेनामा करार सम्झौता रद्ध गरेका नौ जना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।