हिजोदेखि शुरु भएको वर्षाका कारण पूर्वका धेरैजसो ठाउँको डढेलो निभेको छ । हिजो बिहानसम्म उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, सङ्खुवासभा, मोरङलगायतका जिल्लाका जङ्गलमा डढेलो लागिरहेकोमा आज खोटाङ र ओखलढुङ्गाका एकाध ठाउँबाहेक अन्यत्र डढेलो देखिँदैन ।
वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीका अनुसार अहिले पनि ८० भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ । तर सबैजसो डढेलो पश्चिम तराईमा रहेको र पर्सिसम्म पश्चिममा समेत पानी परेर डढेलो निभ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । हिजो परेको सामान्य पानीले कोशी, गण्डकी र बाग्मती प्रदेशका धेरैजसो डढेलो निभाएको र पर्सि बुधवारसम्म अझ ठूलो पानी पर्ने सम्भावना रहेकोले डढेलो निभाउने आशा रहेको उहाँले बताउनुभयो ।
वर्षा र डढेलो निभ्न थालेसँगै वायुको गुणस्तर पनि सुधार हुन थालेको छ । अस्ति शनिवारसम्म अत्यधिक रहेको वायु प्रदूषण हिजोदेखि केही घट्न थालेको वायु गुणस्तर विज्ञ डा। भूपेन्द्र दासले बताउनुभयो । तर पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको हावा अस्वस्थ अवस्थमामै रहेको छ ।
यसअघि काठमाण्डौमा वायु गुणस्तर मापन सूचक एक्यूआई एक सय ८० हाराहारीमा रहने गरेकोमा अहिले एक सय ६० को हाराहारीमा आइपुगेको छ । वायु गुणस्तर सुधार भइरहेको र वर्षा भएमा केही दिनमा थप सुधार हुने डा। भूपेन्द्र दासले बताउनुभयो । सुधार भए पनि काठमाण्डौ अहिले पनि विश्वका ठूला शहरमध्ये प्रदूषित शहरको अग्रसूचीमै छ । बदली र वर्षासँगै गर्मी पनि घटेको छ ।
आज तराई मधेशका जिल्लाको धेरैजसो ठाउँमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा तल नै छ । केही दिन अघिसम्म ४० डिग्रीको हाराहारीमा थियो ।