छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका-१० आयुर्वेदिक हस्पिटलस्थित सडकमा बा.३ ख २०२७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय डा.गोबिन्द रिजालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा र बस चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कपिलवस्तु, कपिलवस्तु नगरपालिका-९ जर्लैया बस्ने ७५ वर्षीय राजकुमार यादबको साइकलबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका-१६ टाँगिकोट चोकमा बुटवलबाट चितवनतर्फ जाँदै गरेको प्रदेश नम्बर १- ०१-००१ ख ४३६२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१७ छिपेनी बस्ने ४७ वर्षीय यमलाल घिमिरेको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।