काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली परिचालन गरिएको छ ।
२९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्झिएपछि सीआईबीको टोली परिचान गरिएको हो । सीआईबीका एक इन्सपेक्टरको कमाण्डमा टोली काभ्रे पठाएर अनुसन्धान सुरू गरिएको छ । संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
यो प्रकरणमा थुप्रै मान्छेलाई पक्राउ गरेर सोधपुछ गरे पनि अहिले भने तीन जनालाई मात्रै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । अहिले दुर्गालाल तामाङ, मानबहादुर तामाङ र श्यामकृष्ण मैनाली गरी तीन जना मात्रै प्रहरी हिरासतमा छन् । अन्यको संलग्नता नदेखिएपछि छाडिएको छ ।
अहिले हिरासतमा रहेका मानबहादुर तामाङले नै २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर अर्कोे साल खेल खत्तम भनेको भेटिएको थियो ।
प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो । अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ ।
भर्खर फूल फुल्दै गरेको ठकुरानी तामाङको बोधिचित्तको रुख राति काटिएको सीसीटीभी फुटेजमा समेत देखिएको थियो । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो भने घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।