काठमाडौं– अमेरिकाबाट मंगलबार बिहान फर्किएलगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा पुगेर मंगलबार बिहान संवाद गरेका हुन् ।
आफू विदेश रहेका बेला जसपा विभाजित गरिएको भन्दै रुस्ट रहेका उनले प्रचण्डसँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
‘अहिले कोही पनि सरकारबाट बिदा हुने कुरा चलेन । पार्टी फुटबारे सामान्य छलफल भयो’, बालुवाटार स्रोतले भन्यो, ‘यादवजीले आजै संसदीय दलको बैठक राख्नुभएको छ । त्यसपछि केही भन्नुहोला ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले पनि तत्कालै सरकारबाट फिर्ता हुन नहुन सुझाएका छन् । उता अध्यक्ष यादवले पनि सरकारबाट निस्किने मनसाय नराखेको बालुवाटारस्थित स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रचण्ड र यादवबीच अमेरिकामा भएको सरकारी भ्रमणबारे मात्रै छलफल भएको छ। उनले खबरहबलाई भने, ‘भ्रमणबारे मात्रै कुरा भएको प्रधानमन्त्रीले बताउनु भएको छ । अरू कुरा त उहाँ सरकारको वरिष्ठ मन्त्री पनि हो ।’
यता जसपा प्रवक्ता मनिस सुमनका अनुसार प्रधानमन्त्री र यादवबीच विकसित राजनीतिक परिस्थितिबारेमा पनि छलफल भएको छ ।
उनले भने, ‘जसपा नेपालमा देखिएको मनमुटाबबारे कुराकानी भएको छ । अरू खास केही छैन । अहिले दलको बैठक बालकुमारीमा हुन्छ । अनि सबै कुरा बाहिर आउला।’