जोडिनुहोस
  • होमपेज
  • कोशीमा सांसदहरूलाई विराटनगर नछोड्न एमाले र माओवादीको निर्देशन

कोशीमा सांसदहरूलाई विराटनगर नछोड्न एमाले र माओवादीको निर्देशन

विराटनगर -कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहँदा दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सांसदहरूलाई राजधानी सहर विराटनगर नछाड्न निर्देशन दिएका छन्।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नयाँ सरकार गठन प्रक्रियाले गति लिएकाले दुवै दलका सांसदहरूलाई विराटनगर नछाड्न भनिएको जानकारी खबरहबलाई दिए ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्ने बताउँदै दुवै दलले विराटनगरबाहिर रहेका सांसदहरूलाई पनि तत्काल आउन भनेका छन् ।

यदि नयाँ सरकारका लागि प्रदेश प्रमुखले आह्वान गरेको अवस्थामा दुवै दलले बहुमत सांसद उपस्थित गराउने गरी निर्देशन दिएका हुन् ।

कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन् । यहाँ केन्द्रको भागबन्डाअनुसार नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री हुने लाइनमा छन् ।

वर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने अडान लिएका छन् । उनले बुधबार मात्रै जेठ ११ गते बस्ने गरी प्रदेश सभा आह्वान गरिसकेका छन् ।

कार्कीले पद नछाड्ने अडान लिइरहँदा प्रदेश प्रमुखले उनलाई कामचलाउमा परिणत गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नेछन् । एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि उनी संविधानतस् अल्पमतमा परिसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका