काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले बिहीबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् ।
बजेटलाई परिणाममूखी बनाउन प्रायः सबै क्षेत्रसँग छलफल गरिरहेको जानकारी दिँदै पुनले गत वर्षभन्दा मुलुकको अर्थतन्त्र केही राम्रो भएको पनि दाबी गरे । थप राम्रो बनाउन आशावादी ढंगले नै बजेट निर्माण भइरहेको उनले बताए ।
निजी क्षेत्रको मनोबल घटेको बताउँदै पुनले त्यसलाई उठाउन प्राथमिकता दिने र सम्पत्ति तथा व्यवसायको सुरक्षामा सरकारबाट विश्वास दिलाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
उनले नेपाल राष्ट्र बैंक सरकारको नीतिबाट बाहिर नहुने भन्दै नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरूपता कायम गराउने पनि दाबी गरे । विद्युतीय सवारीसाधनमा कर बढाउन दबाब आइरहेको तथा यसैका कारण ४० अर्ब रुपैयाँजति राजस्व गुमे पनि अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने अर्थमन्त्रीको भनाइ छ ।
उनले केहि क्षेत्रमा सुधारको माग भएको भन्दै त्यसतर्फ बजेटमार्फत विशेष प्राथमिकता दिइने संकेत गरेका छन् ।