जोडिनुहोस
  • होमपेज
  • निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप

निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप

जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ । जसपा नेपालबाट अलग भएर अशोक राई नेतृत्वको जसपा गठन भइसकेको छ । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ । प्रदेश सभा तथा स्थानीय तहका प्रतिनिधिलाई जसपा नेपालमा रहने कि जसपामा जाने भनेर आयोगले सनाखतको समय दिएको छ । प्रदेश तथा जिल्लामा सनाखतको काम भइरहे पनि सुनसरी जिल्लाका निर्वाचन कार्यालयले आफ्नो पक्षमा प्रतिनिधिलाई फोन गरेर सनाखत गर्न दबाब दिएको जसपा नेपालका केन्द्रीय सदस्य जयराम यादवले बताए । उनले भने, ‘सुनसरी जिल्लाका निर्वाचन कार्यालयबाट एक जना महिला कर्मचारीले देवानगञ्जका गाउँपालिका अध्यक्ष बेचन मेहतालाई फोन गरेर सनाखतका लागि कार्यालय आउन दबाब दिएकी छन्, यो कानुन र विधि विधान विपरीत हो । निर्वाचन आयोगले यसरी जनप्रतिनिधिलाई प्रभावित पार्न मिल्दैन ।’

सुनसरी देवानगञ्जका गाउँपालिका अध्यक्ष मेहताले निर्वाचन कार्यालयबाट आफूलाई मात्र होइन, जसपा नेपालका अन्य जनप्रतिनिधिलाई फोन गरेर सनाखतका लागि आउन भनेको बताए । उनले भने, ‘जसपा नेपालबाट चुनाव जितेका कारण हामी त्यहीँ बस्ने भएका छौँ । जसपा नेपालमै बस्ने भएका कारणले सनाखत गर्न जानु पर्दैन । तै पनि सनाखतकै लागि आउनुपर्छ भनि दबाब दिएको थियो ।’ त्यसरी फोन गरेर सनाखतका लागि आउन भनेपछि आफूले जसपा नेपालको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा सनाखतका लागि जानु पर्दैन भनेपछि आफूहरू नगएको उनले बताए ।

निर्वाचन कार्यालय सुनसरीका नायब सुब्बा कुमारी आचार्यले सनाखतका लागि कसैलाई फोन गरेर दाबाब नदिएको र यसरी दिन पनि नमिल्ने दाबी गरिन् । उनले भनिन्, ‘नयाँ पार्टीका लागि समय सीमा तोकिएको छ, त्यसमा सनाखत गर्न छुट्नु होला कि भनेर जानकारी गराएको मात्र हो, फोन गरेर कसैलाई दबाब दिएको होइन ।’ सनाखतका लागि आयोगबाट सूचना जारी भइसकेपछि सबैलाई जानकारी नहुनसक्ने भएकाले कोही छुट्छ कि भनेर जानकारीमात्र गराएको उनको भनाइ छ । उनले आफूहरूले कसैलाई दबाब दिन नमिल्ने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका