
नवगठित जनता समाजवादी पार्टी जसपाका अध्यक्ष अशोक राईले आफ्नो पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राईले यस्तो प्रतिक्रिया दिएका हुन् । केही दिन अघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेका थिए । राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका काम, कारबाहीलाई यथावत राख्न बुधबार आदेश दिएको थियो । उनले निवेदकले माग गरे अनुरुपको आदेश सर्वोच्च अदालतले नगरेको भन्दै आफूहरुको पार्टी अवैधानिक रहेको भन्ने स्थिति नरहेको बताए ।