जोडिनुहोस
  • होमपेज
  • मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब पर्खने समय नभएको बताएका छन् ।

बिहीबार पार्टीले बल्खुमा आयोजना गरेको मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै ओलीले यसो भनेका हुन् । उनले दुनियाँ धेरै अघि बढेकोले अब पनि नेपाल र नेपालीलाई विकास र समृद्धिको लागि पर्खने समय नभएको बताए ।

ओलीले समाजवादी आन्दोलनलाई एकता र अनुशासित ढङ्गले अघि बढाउनु पर्नेमा जोड दिए । समाजवादी आन्दोलनलाई सही हिसाबले अघि बढाउनु पर्ने उनले बताए । यसो गर्न सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उनले प्रष्ट पारे ।अहिले देशमा देशको हितको पक्षमा उभिएर लड्ने र निर्देशित ढङ्गले स्वार्थकेन्द्रित रहेर चल्ने दुई शक्ति रहेका ओलीले बताए

नेपाल कम्युनिष्ट पार्टी जनतामा आधारित सचेत संगठन भएको ओलीले प्रष्ट पारे । ‘नेकपाले सदैव राष्ट्रिय शक्तिको रूपमा भूमिका खेल्दै आएको छ’, उनले भने । देशको स्वाधीनता, स्वाभिमान, अखण्डता, राष्ट्रिय हित, सुशासन, नयाँ विकास अभियानका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उनले बताए ।

त्यसैको लागि एमालले मिसन २०८४ भनेको उनले प्रष्ट पारे। ‘अहिले हामीले मिसन २०८४ अर्थात् २०८४ को निर्वाचनलाई हेरेका छौँ, एउटा टर्निङ पोइन्टको रूपमा, एउटा मोडको रूपमा, नेपालको राजनीतिले एउटा नयाँ मोड लिनु पर्दछ २०८४ सालबाट, त्यसकारण हामीले मिसन २०८४ भनेका छौँ, त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुने छ’, उनले भने ।

जनताको बहुदलीय जनवाद भनेकै समृद्ध नेपाल, सुखी नेपाली भएको उनले स्पष्ट पारे । परिवर्तनका विभिन्न चरण पार गर्दै समृद्ध नेपाल, सुखी नेपालीसम्म पुग्न सकिने ओलीले बताए । विश्वमा हिंसा अन्त्य गरी शान्ति स्थापनको लागि योगदान दिनु अब नेपालको दायित्व भएको उनले बताए । अहिलेको युगमा युद्ध, हिंसा र हत्या अशोभनीय तथा मानवता विरुद्धको काम भएको उनले स्पष्ट पारे ।

छिमेकीसँगको सम्बन्ध पनि अब समान हुनुपर्नेमा उनले जोड दिए । छिमेकीले छिमेकीको सम्बन्धमा कुभलो नचिताउने, भलो मात्र चिताउने गरी एमाले अघि बढ्ने ओलीले प्रष्ट पारे । एमालेलाई सिद्ध्याउने अनेक षडयन्त्रका बाबजुद पनि पहिलो राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको उनले बताए । अब एउटा अवस्था बनिसकेकोले एमाले बलियो राष्ट्रिय शक्ति बनेर अघि बढ्ने उनले दाबी गरे ।

एमालेविरुद्ध एकपछि अर्को पासो थापेर हमला गरे पनि सबै मोर्चा र पासोलाई परास्त गरेको उनले बताए । अब एमाले सुदृढ विजयको दिशामा अघि बढ्नु पर्नेमा ओलीले जोड दिए ।

उनले मिसन २०८४ मा एमालेले गोल गर्नुपर्ने बताए । मिसन २०८४ मा एमालले गोले मिस हुन नदिने ओलीले दाबी गरे । हिजो लडेर आएको देश र एमाले आज अडे मात्रै पुग्ने उनले प्रष्ट पारे । ‘मिसन २०८४ सफल बनाएर छाड्ने छौँ’, उनले भने ।

नेपाल कसैको अगाडि घुँडा टेक्ने नजान्ने ओलीले बताए । जस्तासुकै दबाब र असहज परिस्थितिका बिचमा पनि नेपाल र नेकपा एमाले घुँडा नटेकेको उनले सुनाए । नेपालमा नाकाबन्दी गर्दा पानी खाएर पनि हामी बाँच्छौँ, तपाईं नझुक्नुस् भनेर जनताले आफूलाई आँट र साहस दिएको ओलीले बताए ।

दासढुंगा घटना रहस्यपूर्ण

ओलीले २०५० साल जेठ ३ गते मदन–आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटना भएको घटना निक्कै रहस्यपूर्ण रहेको बताए ।

नेपाली कांग्रेसका पुराना नेता उमेश गिरीले सार्वजनिक गरेका प्रसङ्गले पनि उक्त घटना रहस्यमय भएको ओलीले बताए ।

ओलीले मदन–आश्रितको निधनले आन्दोलन नै विचलित हुने अवस्था आएको भए पनि उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको दर्शनले पार्टीलाई दिशानिर्देश गरेको प्रष्ट पारे ।

एमालेले शोकलाई शक्तिमा बदलेर अघि बढेको ओलीले बताए । ‘हामी आँसु पुछ्दै आन्दोलनलाई अझै सुदृढ ढङ्गले, गतिशील ढङ्गले अघि बढाउन लाग्यौँ’, ओलीले भने ।

मदन भण्डारीले ४१ वर्षकै उमेरमा विश्वलाई चकित पार्ने गरी असाधारण प्रतिभा देखाएको ओलीले बताए । मदन भण्डारी प्रष्ट दृष्टिकोण र अडान भएको नेता भएको ओलीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका