जोडिनुहोस
  • होमपेज
  • सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता गठबन्धनविरुद्ध मोर्चा कस्ने रणनीति बनाएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सत्तारुढ नेकपा एमालेका सांसदहरूसँग घम्साघम्सी भएपछि कांग्रेसले विपक्षीहरूलाई एकै ठाउँ ल्याउने रणनीति बनाएको हो । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे संसदीय छानबिनका लागि सत्तापक्ष तयार नभएपछि कांग्रेसले नयाँ रणनीति बनाउँदै विपक्षीको मोर्चा कस्न लागेको हो ।

त्यसकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहदरबारमा विपक्षी दलको बैठक राखेका छन् । विपक्षी दलहरू बैठकमा ब्यस्त भएपछि बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि धकेलिएको छ । बैठकमा भर्खरै सत्ताबाट बाहिरिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । उनीसँगै सांसद राजकिशोर यादव पनि बैठकमा छन् ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी छन् । यो बैठकमा बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । यो बैठकमा देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाएका थिए । तर पछिल्लो समय सत्ता गठबन्धनसँग असन्तुष्ट उनी प्रतिपक्षीको बैठकमा गएनन् ।

कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने अडान राखेको छ । तर सत्तापक्ष कांग्रेसको मागमा सहमत छैन । उसले समग्र सहकारीको समस्याबारे छानबिन हुनुपर्ने बताउँदै कांग्रेस व्यक्तिकेन्द्रित राजनीतिमा लागेको आरोप लगाइरहेको छ । त्यहीकारण संघीय संसद्का दुवै सदन अवरुद्ध छन् ।

बिहीबार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन करिब सहमति भएको थियो । तर, सहमति भाँडियो । बिहीबार प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्रीले सदनको अवरोध हटाउन कांग्रेसको मागअनुसार संसदीय छानबिन समिति बनाउने निर्णयमा पुगेका थिए ।

छानबिन समितिको मस्यौदा बनाउन कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्लेलाई लगाइएको थियो । तर दुवै पक्ष एकअर्काले बनाएको मस्यौदामा सहमत नहुन संसद्‍मा तनाव बढ्यो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका