दोलखा– दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाइँ स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुल्क हाडजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।
रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, भीमेश्वर नगरपालिका र पशुपति चौलागाइँ स्मृति अस्पताल चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड (सोलुसन फाउन्डेसन स्विट्जरल्याण्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।
नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरूले सेवा लिएका बताए । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिए। शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपयोग्य सामग्री र औषधि निःशुल्क गरिएको डा आचार्यको भनाइ छ ।
शिविरको एक कार्यक्रमबीच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागाइँ स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताए।