नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु’ गठबन्धनको संज्ञा नै दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरी ‘सहकारीबन्धु’ गठबन्धन बनेको टिप्पणी गरेका हुन् । उनले भने- ‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्यो भन्नु भएको थियो । यो सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ ।’ उनले आजको बैठकमा सभामुखले प्रतिपक्षलाई बोल्न नदिएको आरोप समेत लगाए । उनले आज आफू बोल्ने सहमति भएको भए पनि सभामुखले बोल्न नदिएको बताए ।