काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले आइतबार बसेको संसद् बैठकमा बोल्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदहरू झन् बढी आक्रोशित भएका छन् ।
रास्वपा सभापति रवि लागिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले छानबिन समिति माग गरेको छ । कुनै बेला नेपाली कांग्रेसमा रहेका वाग्ले २०८० को उपनिर्वाचनमा तनहुँबाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनले त्यसबेला नेपाली कांग्रेसका डा. गोविन्द भट्टराईलाई हराएका थिए । कांग्रेसले वेल घेराउ गरेर नाराबाजी गरिरहेका बेला वाग्लेले नीति तथा कार्यक्रकबारे बोल्न रोष्ट्रममा पुगेपछि कांग्रेस नेताहरू थप आक्रोशित भएर नाराबाजी गरेका हुन् ।
कांग्रेसको नाराबाजीबीच वाग्लेले भने, ‘असहज वातावरणमा बोल्नु पर्ला जस्तो लागेको थिएन । मेरा राजनीतिक आदर्शलाई स्थापित गर्नुको साटो लज्जास्पद अवस्था भयो । संसदीय छानबिन समिति बनाउन हाम्रो कुनै असहमति छैन । तर व्यक्तिगत समिति बन्दैन । औचित्यहीन कर्मकाण्डको खेद प्रकट गर्छु ।’
वाग्लेले यसोभन्दा सभामुख देवराज घिमिरेले विषयमा प्रवेश गरेर बोल्न भनेका थिए । नीति तथा कार्यक्रमबारे छलफलमा कांग्रेसप्रति वाग्ले खनिएपछि सदनमा अझै नाराबाजी देखिएको हो ।