जोडिनुहोस
  • होमपेज
  • एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

काठमाडौँ । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ ।

आज काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रहने जानकारी दिए ।

२०६३ साल जेठ १६ गते नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला सङ्घकी तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो ।

संसद्को यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयहरूलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आइरहेको छ । ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौँ,’ पत्रकार सम्मेलनमा ढकालले भने- ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा गरिने छ, चुनौतीहरूका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेन्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।’

उनका अनुसार, उद्घाटन कार्यक्रम २०८१ जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा करिब पाँच हजार महिलाको सहभागितामा हुनेछ । भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बिचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुनेछ ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । उनका अनुसार, भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुनेछ । समूह प्रस्तुतिपछि भेलाका निष्कर्षहरू सार्वजनिक गरिने छ । समापन कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नेछन् ।

भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका