जोडिनुहोस
  • होमपेज
  • दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध

दाङ, सल्यान र रुकुममा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । प्राविधिक समस्याका कारण दाङदेखि रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा प्राविधिक समस्या देखिएको र मर्मतका लागि टोली परिचालन गरिएको जानकारी दिए ।

‘लमहीदेखि १३ किलोमिटर टाढा विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको एडीएसएसमा समस्या देखिएको छ,’ निर्देशक मल्लिकले भने, ‘त्यसका लागि बुटवलबाट विशेष प्राविधिक टोली दाङ प्रस्थान गरिसकेको छ ।’

अन्य सामान्य खालका मर्मत स्थानीय प्राविधिकहरुले नै गर्न सक्ने तर विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा राखिएको उपकरण भएकाले विशेष टोली बुटवलबाटै पठाउनु परेको उनले बताए ।

उनका अनुसार प्राविधिक समस्याका कारण घोराही, तुलसीपुर, सल्यान, रुकुम लगायतका क्षेत्रमा सबै प्रकारका मोबाइल र ल्याण्डलाइन सेवा प्रभावित भएको छ । फोन नलाग्ने समस्या आएपछि टेलिकमका सेवाग्राही मर्कामा परेका छन् ।

धेरै टिप्पणी गरिएका