कञ्चनपुर– कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ ।
थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ ।जैविक तटबन्ध प्रभावकारी हुन थालेपछि स्थानीय तहहरूले दातृ निकायसँग सहकार्य गरी काम अगाडि बढाउँदै आएका छन् ।
जिल्लाका दोदा, वनहरा, सनवोरालगायत नदीमा दशकअघिदेखि जैविक तटबन्ध निर्माण गर्ने कार्य हुँदै आएको छ । हाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) ले ‘मर्सिकोर’को सहयोगमा सञ्चालन हुँदै आएको ‘एमरेड परियोजना’अन्तर्गत पालिकासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण गर्दै आएको छ ।
यसअघि नेपाल रेडक्रस सोसाइटीले परियोजनासँगको सहकार्यमा जैविक तटबन्ध निर्माण गर्दै आएको थियो । चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिकासँगको लागत साझेदारीमा कल्याण सङ्घले एमरेड परियोजनाअन्तर्गत तीन सय मिटर जैविक तटबन्ध निर्माण गरेको छ ।
नगरपालिकाको वडा नं ११, २ र ३ भएर बग्ने सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिएको छ । एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सहकार्यमा जैविक तटबन्ध निर्माण गरिएको हो ।
कटानको उच्च जोखिममा रहेको वडा नं ११ कलुवापुरमा एक सय, वडा नं २ मा एक सय र ३ मा एक सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको तर्फबाट एक लाख ७९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय २६ दिनको रोजगारीवापत दक्ष र अदक्ष कामदारको ८३ हजार ज्याला ब्यहोरिएको छ ।
यसैगरी जनताको तटबन्धबाट ६ हजार तीन सय प्लाष्टिकका बोरा सहयोग गरिएको छ । स्थानीय समुदायले एक लाख २६ हजार बराबरको श्रमदान गरेका छन् । परियोजनाको तर्फबाट एक लाख ७२ हजार रकम व्यहोरिएको छ । पुर्नवास नगरपालिका–७ परासन र वडा नं ९ सीताबस्तीको दोदा नदीमा नगरपालिकासँगको सहकार्यमा परियोजनाअन्तर्गत पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ ।
जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाले तीन लाख ३९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच सय २० दिनको रोजगारीअन्तर्गत तीन लाख ४७ हजार र परियोजनाको तर्फबाट तीन लाख रकम व्यहोरिएको छ । तटबन्ध निर्माण गर्न स्थानीय समुदायले एक लाख १० हजार बराबरको श्रमदान गरेको छ ।
पुर्नवास नगरपालिका नदी तटीय क्षेत्रका परिवारले पनि उखुखेती गर्दै आएका छन् । उखुको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्ने भएकाले भूक्षयबाट रोक्ने र उखु बिक्री गरी नदी प्रभावित समुदायले गतिलो आम्दानी गर्दै आएको संयोजक घिमिरेले बताए । जैविक तटबन्ध निर्माण भएका क्षेत्रमा पानी सहन सक्ने, छिटो हुर्कने, बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका बिरुवा लगाउने काम पनि हुँदै आएका छन् ।
राष्ट्रिय समाज कल्याण सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जैविक तटबन्ध भूक्षय रोक्नमा प्रभावकारी भएकाले यसको माग पालिकाहरूबाट बढ्दो रूपमा आउन थालेको बताए । बगरमा उखुखेती र बगरखेती गर्न प्रोत्साहीत गर्दै आएकाले स्थानीय समुदायको आर्थिक अवस्थमा सुधार आएको पाइएको कार्यकारी निर्देशक जैरुले उल्लेख गरे ।