जोडिनुहोस
  • होमपेज
  • आलु, प्याज र स्याउको मूल्य घट्ने

आलु, प्याज र स्याउको मूल्य घट्ने

काठमाडौँ । आलु, प्याज र स्याउको मूल्य घट्ने भएको छ । सरकारले आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेसँगै यसको मूल्य घट्ने भएको हो ।

नेपाली भान्साका लागि दैनिक प्रयोग हुने आलु र प्याजको भ्याट हट्नु पर्ने सरोकारवालाले आवाज उठाउँदै आएका थिए ।आलु, प्याज र स्याउ भण्डारण गर्दा खेर जाने र स्वदेशी उत्पादनलाई भ्याटमा कारोबार गर्न समस्या हुने भएकाले पनि यसको भ्याटमा हुने कारोबार हटाउनुपर्ने व्यवसायीको माग थियो । यो माग सम्बोधन भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘स्वदेशी उत्पादन भएका आलु, प्याज र स्याउको भ्याट बिलमा कारोबार गर्न समस्या थियो ।’ उनले भने, ‘भण्डारण गर्दा खेरपनि जाने भएर भ्याट बिलमा कारोबार हटाउनु पर्ने व्यापारीको माग थियो ।’ भ्याट बिलमा कारोबार गर्दा मूल्यको भार उपभोक्तालाई परेको थियो । आलु, प्याज र स्याउको भ्याट हटेसँगै यसले उपभोक्तालाई पनि आर्थिक भार कम हुने श्रेष्ठले बताए ।

नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले सरकारले आलु प्याजमा भ्याट हटाएसँगै मूल्यमा सहजता आउने प्रतिक्रिया दिए । ‘हाम्रो अपेक्षा अनुसार बजेट आएको छ, अब व्यवसाय गर्न सहज हुने भो,’ उनले भने, ‘आलु प्याज खरिद बिक्री गर्न सहज हुनुका साथै उपभोक्ता मूल्य पनि घट्छ ।’

मङ्गलवार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा लाग्ने भ्याट खारेज गरेका हुन् । ती कृषि वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताएका हुन् ।

सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । त्यसको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको भ्याट हटाउनुपर्ने माग राख्दै आएका थिए ।

धेरै टिप्पणी गरिएका