विराटनगर । प्रहरीले विराटनगरबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
भारतको जोगवनीमा खरिद गरेर टेम्पोमा राखेर नाइट्राभेट र प्यारोनिक्स ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले को २ ह ८३९० नम्बरको टेम्पोसहित चालक विराटनगर–६ का १९ वर्षीय छोटु सहनी, टेम्पोमा सवार विराटनगर–९ का ३० वर्षीय सञ्जय साह र विराटनगर–१६ का ३० वर्षीय पशुपति केवटलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५ स्थित खाकी बाबा मन्दिर अगाडि खानतलासी गर्दा टेम्पोको सिटमुनि लुकाएर राखिएको अवस्थामा नाइट्राभेट १७० ट्याब्लेट र प्यारोनिक्स १२८ ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।