मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तासमिकरणमै रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उनले वर्तमान सत्तासमिकरणकै पक्षमा रहेको स्पष्ट पारे । फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८१-८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताए । बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा वर्तमान समिकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राखे । ‘वर्तमान समीकरण अनुसारनै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ’ उनले भने ।