जोडिनुहोस
  • होमपेज
  • नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : गगन थापा

नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’ कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताएका छन् । महामन्त्री थापाले प्रत्येक वर्ष झण्डै पाँच लाख नेपालीलाई रोजगारी आवश्यक परे पनि देशले रोजगार दिन नसकेका कारण विदेशिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । आगामी एक दशक नेपालका लागि वैदेशिक रोजगार यथार्थ भएको उनको भनाइ थियो ।

पूर्वमन्त्रीसमेत रहेका थापाले विसं २०४६ को परिवर्तनपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारको पालमा निजी क्षेत्रबाट धेरै उद्योगधन्दा सञ्चालन भए पनि दशवर्षे जनयुद्ध र देशको राजनीतिक अस्थिरताका कारण बन्द भएको जिकिर गरे । महामन्त्री थापाले नेपाली कांग्रेसको संगठन विस्तारमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको ठूलो भूमिका रहने बताए । पार्टीले वैदेशिक रोजगारीको क्षेत्रमा नीति बनाउँदै गर्दा एशोसिएसनले महत्त्वपूर्ण राय, सल्लाह सुझाव दिने महामन्त्री थापाले अपेक्षा गरे ।

उनले वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा देखिएका समस्या समाधान गर्नका लागि पार्टी लाग्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी, मान र सम्मानका साथ सञ्चालनमा लाग्न उनले व्यवसायीलाई आग्रहसमेत गरे । तमु सङ्घ नेपालका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्ने गरी सरकारले नीति बनाउनुपर्ने बताए। उनले सबै व्यवसायीलाई समेटेर अगाडि बढ्न एशोसिएसनलाई आग्रह गरे ।

एशोसिएसनका नवनिर्वाचित अध्यक्ष दीपक थापाले वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायी र वैदेशिक रोजगारमा गएका श्रमिकको समस्या समाधानका निम्ति आफ्नो कार्यसमितिले काम गर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका