जोडिनुहोस
  • होमपेज
  • चीन र अरब राष्ट्रबीच नवप्रवर्तनसहित ५ क्षेत्रमा सहकार्यको घोषणा

चीन र अरब राष्ट्रबीच नवप्रवर्तनसहित ५ क्षेत्रमा सहकार्यको घोषणा

काठमाडौं । चीन र अरब राष्ट्रबीच आपसी सहकार्यको घोषणा भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अरबबीच विभिन्न पाँच क्षेत्रमा सहकार्य अघि बढ्ने घोषणा गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीन-अरब राज्य सहकार्यक मञ्चको सभालाई सम्बोधन गर्दै सीले सहकार्यका पाँच ढाँचा अघि सारेका हुन् । चीन र अरबबीच गतिशील नवप्रवर्तन, विस्तारित सहयोग र लगानीमा नवीनत सहकार्य, ऊर्जा क्षेत्रमा वृहत सहकार्यको घोषणा भएको हो । यस्तै, आर्थिक र व्यापारिक रुपमा आपसी हित र जनस्तरमा आदनप्रदानमार्फत थप सहकार्यको पनि घोषणा भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । नवप्रवर्तनअन्तर्गत चीन र अरबले संयुक्त रुपमा अरबमा १० वटा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला निर्माण गर्नेछन् । यस्तै यान्त्रिक बौद्धिकतामा आधारित प्रविधिमा उनीहरुबीच सहकार्यको घोषणा भएको छ ।

यस्तै ऊर्जा क्षेत्रमा हरित ऊर्जामा सहकार्य गर्ने र आधुनिक कृषि प्रणालीका साथै सूचना प्रविधिमा सहयोग गर्ने घोषणा गरिएको छ । यस्तै दुई मुलुकबीच अन्तरिक्षको प्रविधिमा पनि सहकार्यको घोषणा भएको छ ।

चीन-अरब राष्ट्र सहकार्य मञ्च स्थापना भएको दुई दशक पुगेको छ । योबीचमा अरब राष्ट्र र चीनबीच राम्रो व्यापारिक सम्बन्ध स्थापना भएको छ । अरब राष्ट्रसँग व्यापार गर्ने मुलुकमा चीन अग्रपंक्तिमै छ । अरब राष्ट्र र चीनबीच बीआरआईमा पनि सहकार्यको सम्झौता छ । जसअन्तर्गत २०० भन्दा बढी परियोजनामा आपसी सहकार्य भइरहेको छ । यसबाट २ अर्ब मानिस लाभान्वित हुने अपेक्षा राखिएको छ ।

चीन र अरब राष्ट्रबीच हाल ४०० अर्बको व्यापार भएको छ । सहकार्यको नयाँ ढाँचामार्फत यस व्यापारलाइ बढोत्तरी दिने आपसी अपेक्षा रहेको छ । बिहीबार सम्मेलनमा सम्बोधन गर्दै सीले चीन र अरबबीचको सहकार्य नयाँ उचाइमा अघि बढिरहेको बताएका छन् । उनले चीनले अरबसँग रणनीतिक साझेदारी गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा लान तयार रहेको समेत उल्लेख गरेका छन् ।

चिनियाँ प्रधानमन्त्री सीले सन् २०२६ को चीन-अरब सम्मेलन आफ्नो मुलुकले आयोजना गर्ने बताएका छन् । ‘मध्यपूर्व सम्भावनानै सम्भावना रहेको भूमी हो । यद्यपि यसमा क्षेत्र युद्धमा मडारिरहेको छ । न्यायिक रुपमा युद्धको निरुपण गर्दै शान्ति कायमका लागि सबैको सहयोग आवश्यक छ । चीन दुई राज्यको अवधारणामा अडिग छ र इजरायल प्यालेस्टाइनको युद्ध अन्त्यको पक्षमा छ,’ उनले सम्बोधनमा भनेका छन् ।

चीनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यतामा विगतदेखिनै समर्थन गर्दै आएको छ । सीले गाजामा मानवीय सहायताका लागि एक अर्ब युआन सहयोगको समेत घोषणा गरेका छन् ।

चीनले द्वन्द्वपछिको पुर्ननिर्माणका लागि पाँच अर्ब युआन सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यस्तै उनले प्यालेस्टाइन शरणार्थीहरुलाई सहयोगका निम्ति राष्ट्रसंघीय निकायलाई ३० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

धेरै टिप्पणी गरिएका