जोडिनुहोस
  • होमपेज
  • इरानमा राष्ट्रपति पदको उम्मेदवारी दर्ता खुला

इरानमा राष्ट्रपति पदको उम्मेदवारी दर्ता खुला

तेहरान । इरानमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम रायसीको स्थानमा अर्को महिना हुने राष्ट्रपति पदको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारको औपचारिक दर्ता सुरु भएको छ । “राष्ट्रपति निर्वाचनका लागि स्थानीय समयअनुसार बिहान ८ बजेदेखि गृह मन्त्रालयमा उम्मेदवारी दर्ता सुरु भएको छ र राष्ट्रपतिपदका आकांक्षीलाई दर्ता गर्न पाँच दिनको समय दिइनेछ,” इरानी समाचार संस्था आईआरएनएले लेखेको छ ।

सन् २०२५ का लागि चुनाव हुने पूर्व निर्धारित कार्यक्रम भएपनि मे १९ मा रायसीको अप्रत्यासित निधनपछि निर्वाचन अघि सारिएको हो । उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा विमान दुर्घटनाग्रस्त हुँदा दिवङ्गत राष्ट्रपति राईसी र विदेशमन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित टोलीका सात सदस्यको मृत्यु भएको थियो ।

इस्लामी गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले संविधानअनुसार ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन् । सरकारी टेलिभिजनले बिहीबार जनाएअनुसार ‘करिब ३० जना’ उम्मेदवारका लागि आवेदन दिन अघि सरेको तर तीमध्ये कसैले पनि योग्यताका लागि आधारभूत शर्त पूरा नगरेको जनाएको छ ।

इरानको निर्वाचन कानुनअनुसार राष्ट्रपतिको उम्मेदवार हुनका लागि ४० देखि ७५ वर्ष उमेर समूहको कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको उम्मेदवार हुनुपर्नेछ । विगतका चुनावी चक्रहरूमा जस्तै इरानको प्रमुख राजनीतिक समूहहरूको प्रतिनिधित्व गर्ने मुख्य उम्मेदवारले दर्ता प्रक्रियाको अन्त्यनजिक आफ्नो आवेदन पेश गर्ने अपेक्षा गरिएको छ ।

इरानी सर्वोच्च नेताद्वारा नियुक्त वा अनुमोदन गरेको १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ ले जुन ११ मा उम्मेदवारहरूको अन्तिम सूची घोषणा गर्नेछ । उक्त निकायले सन् २०२१ को राष्ट्रपतीय चुनावअघि धेरै सुधारवादी नेताहरूलाई राष्ट्रपतिका लागि अयोग्य घोषित गरेको थियो जसले अति रूढिवादी रायसीलाई सत्तामा ल्याएको थियो ।

त्यतिबेलाको चुनावमा ४८।८ प्रतिशत मात्र मतदान भएको थियो । इरानको कट्टर प्रतिद्वन्द्वी इजरायल र तेहरान समर्थित प्यालेस्टाइनी लडाकू समूह हमासबीच गाजा युद्ध चर्किरहेका बेला र इरानको आणविक कार्यक्रमलाई लिएर निरन्तर कूटनीतिक तनावबिच जुन महिनामा मतदान हुन लागेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका