जोडिनुहोस
  • होमपेज
  • वृद्धा हत्याका पाँच आरोपित सार्वजनिक

वृद्धा हत्याका पाँच आरोपित सार्वजनिक

बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ । चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षीया विष्टको हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख मिलन केसीले बताए । बिर्तामोड–४ का २२ वर्षीय राजवंशीले सोही स्थानका २३ वर्षीय महेश राजवंशीको सहयोगमा हत्या गरेको केसीले जानकारी दिए ।

प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गंगाप्रसादकी श्रीमती वर्षा राजवंशी, चोरीको सामान बेच्न सघाउने सोही ठाउँमा ‘ज्याक’ भनिने भगीरथ माझी र चोरीको सामान खरिद गर्ने अर्जुनधारा–६ का हनुमान सुनचाँदी पसल सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार गंगाप्रसाद र महेश राजवंशी मिलेर चोरी गर्ने योजनाअनुसार वैशाख २६ गते विष्टको घरमा गएका थिए । घरमा एक्लै रहेको समयमा चोर आएको जस्तो लाग्यो भनेर उनले काठमाडौंमा रहेका छोरालाई फोनमा जानकारी गराइन् । त्यसपछि उनका छोराले छिमेकीलाई घरमा जान भने । छिमेकी आएर होहल्ला गरेपछि राजवंशीद्धय भागेका थिए ।

घटनाअनुसार छिमेकीहरु आआफ्नो घर फर्किएपछि फेरि राजवंशीले त्यो घरमा चोरी गर्ने योजना बनाए । नजिकै लुकेर बसेका उनीहरु घरको पर्खाल नाघेर भित्र पसे ।
चोरी गर्ने क्रममा विष्टले होहल्ला गर्न थालेपछि ताला फुटाउन ल्याएको रडले हिर्काएर हत्या गरेको खुलेको छ । वृद्धाको टाउकोमा गंगाप्रसादले तीन पटक रडले प्रहार गरेको स्वीकार गरेका छन् ।

प्रहरीले वृद्धाको हत्या घटनालाई ‘अपरेसन ब्ल्याक ब्याग’ नाम दिएर अनुसन्धान सुरु गरेको थियो । प्रारम्भमा कुकुर ल्याएर अनुसन्धान गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको थिएन ।

घटनाका अभियुक्तकोे खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । सीआइबी, प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।

प्रहरीले घटनास्थलबाट ताला फुटाउन प्रयोग भएका फलामका उपकरण, सुनको औंठी, सुनको बाला, सुनको सिक्री, सुनको टप, सुनको जन्तर र चाँदीको कलश बरामद गरेको जनाएको छ । अभियुक्तहरुलाई हिरासतमा राख्न अदालतबाट म्याद थप गरी प्रहरीले आवश्यक अनुसंधान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका