जोडिनुहोस
  • होमपेज
  • गगनलाई मनीष झाको जवाफ– राजनीतिमा क्रेडिट र कपीराइट मेरो भन्न पाइँदैन

गगनलाई मनीष झाको जवाफ– राजनीतिमा क्रेडिट र कपीराइट मेरो भन्न पाइँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापालाई राजनीतिमा क्रेडिट र कपीराइट दल वा व्यक्तिविशेषको नहुने जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले थापाले बोल्ने क्रममा आफ्नो दलमाथि सबै राजनीतिक अवस्था र व्यवस्था बिगारेको आरोप लगाउन खोजेको सांकेतिक रूपमा उल्लेख गरे । आफ्नो दल राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको भन्दै उनले भने, “केही दल दलका अग्रजहरूले तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिन्छ । आज पनि देखियो ।”

विशेष समयको सुरुआतमा बोलेका थापाले विभिन्न प्रश्न गरेका थिए । आफ्नो बोल्ने क्रममा झाले राजनीतिले धेरै ‘कोर्ष’ परिवर्तन गरेको भन्दै ‘करिकुलम’ पनि परिवर्तन गर्न जरुरी रहेको बताए ।

“कक्षा–५ को किताब पढेर एसईई पास हुँदैन । व्यवस्था परिवर्तन भयो, अवस्था अलेलि परिवर्तन भयो । सबै परिवर्तन मैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न,” उनले भने, “राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट ।”

उनले यसमा सबैको योगदान हुने भन्दै थपे, “अरू केही विकल्प नभएर हामी राजनीतिमा आएको हैन, अन्य आधार प्रशस्तै छ । जेलमा यति बस्यौँ र बागबजारमा टायर बाल्ने आधार छैन । तर, अरू धेरै आधार छ ।”

थापाले सदनमा आफूहरूले विपीन जोशीदेखि चुरे दोहन र मधेसमा पानीको हाहाकारको विषय उठाउनु आवश्यक रहेको बताएका थिए । जवाफ दिँदै झाले चुरे दोहन, डढेलोलगायत विषयमा विगतमा चिन्ता कहाँ थिए ? भन्दै प्रश्न गरे । उनले बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, गिरीबन्धु, टेरामक्सको फाइल खोज्छौँ ? भन्ने प्रश्न पनि गरे ।

धेरै टिप्पणी गरिएका