जोडिनुहोस
  • होमपेज
  • विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड नाघ्यो

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड नाघ्यो

धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार ६ सय ७३ रुपैयाँ रहेको छ । वितरण केन्द्रको चालू आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्तीबापत उक्त बक्यौता रकम रहेको हो ।

चालू आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ४९ लाख ५ हजार ४ सय १, घरायसीको २ करोड २४ लाख ५२ हजार १ सय ६०, अन्यको २ करोड ५३ लाख ५३ हजार ८७ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रुपैयाँ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए ।

उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो । चालू आवमा भने बक्यौता रकम केही घटेको उनको भनाइ छ । चालू आवको वैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने १ हजार ५ सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए ।

‘हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँ’, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, ‘अरूको त रकम आइ नै रहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।’ गत आवभन्दा चालू आवमा बक्यौता रकम घटेको उनको भनाइ छ ।

वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको २ करोड ४१ लाख ४२ हजार ८ सय ९१, घरायसीको ५ करोड ७९ लाख २८ हजार ३ सय ६९, अन्य ग्राहकको बक्यौता रकम १ करोड ४२ लाख २२ हजार तीन सय ६८ र सडकबत्ती बापतको १० करोड ५० लाख ३३ हजार ३ सय ७३ रुपैयाँ रहेको थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२ दशमलव पाँच प्रतिशत रहेका केन्द्रले जनाएको छ । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका